उद्योगीहरु राजा खोज्दै हिँडेको मातृका यादवको आरोप, ‘सम्बन्ध सरकार र प्रतिपक्षीजस्तो भयो'
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्योगीहरु राजा खोज्दै हिँडेको आरोप लगाएका छन्। तेस्रो उद्योग दिवसको उद्घाटन गर्दै मन्त्री यादवले केही मिडिया हाउस आफुलाई सिध्याउन सुनियोजित तरिकाले लागिपरेको समेत आरोप लगाए।‘उद्योगी, व्यवसायी र सरकारबीच राम्रो सम्बन्ध हुनुपर्थ्यो तर सरकार र प्रतिपक्षको जस्तो सम्बन्ध रहेको छ।‘ मन्त्री यादवले भने, ‘सरकारले मागेको सबैकुरा तपाईहरु दिनुहोस, तपाईले मागेको सबै कुरा सरकारले दिन्छ।’'कुन उद्योगले के सामान कति उत्पादन गर्छ भन्ने सरकारी निकायलाई कुनै जानकारी छैन। मागेको कुरा तपाईहरु दिनुहुन्न। बरु राजा खोज्दै हिड्नुहुन्छ। राजा नेपालमा छैनन्। जति खोजेपनि भेटिदैनन्। मनको राजा त जो भएपनि हुन्छ।'-उनले भने।उद्योगीहरुले मन्त्री यादवलाई भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न थालेकोप्रति संकेत गर्दै उनले गलत ठाउँमा जम्प गरेको समेत बताएका छन्।‘तपाईहरु तेक्वान्दो खेलाडी जस्तो जम्प गर्नुहुन्छ। तर बिचैमा लड्नुहुन्छ। अनि कसरी प्राइज पाउनुहुन्छ?‘ यादवले भने, ‘तपाईहरु आफ्नो मानसिकता परिवर्तन गर्नुहोस्। तपाईको सहयोग बिना केहिपनि गर्न सकिदैन। कि मलाई तपाईको पछि लगाउनुस् कि तपाईहरु मेरो पछि लाग्नुस्। अहिले राजा खोजेर पाईदैन।’