सवा तीन अर्बको लागतमा पेट्रोलियम पाइपलाइन : भारतीय मन्त्री प्रधान
असोज १३, २०७५ जनकपुरधाम : भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले भारतबाट सहज रूपमा नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिका लागि तीन सय २२ करोडको लगानीमा पाइपलाइन बिछ्याउने काम भइरहेको बताएका छन्। भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ कलोमिटरको निर्माणाधिन पाइपलाइनको काम धमाधम भइरहेको बताएका हुन्। पछिल्लो पटक भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको पेट्रोलियम पदार्थको पाइपलाइन कामको प्रगतिको समीक्षा गर्न नेपाल आएको मन्त्री प्रधानले बताए। उनले नेपाल सरकार तथा भारत सरकारबाट संयुक्त रूपमा भइरहेको काम तीव्रतापूर्वक भइरहेकोले सम्झौता तीन वर्षको भए पनि एक वर्षमै काम समाप्त हुने योजनाका साथ अघि बढेको जानकारी दिए। विश्वका हिन्दुहरूको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल र भारतको सम्बन्ध अटुट र अनोखा भएकोले एक देशले अर्कोलाई सहयोगका साथ अघि बढ्न सुझाव दिए। उनले दुई देश मिलेर नेपाल र भारतको विकास र समृद्धिमा सँगसँगै अघि बढ्नुपर्नेमा समेत जोड दिए। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेपाल भारतको पेट्रोलियम पाइपलाइन निर्माणबाट पेट्रोलियम पदार्थमा देखिएको सम्पूर्ण समस्या निराकण हुने जानकारी दिए। उनले पेट्रोलियम पदार्थको ढुवानीमा ट्यांकरमा असिमित खर्च भइरहेकोले पाइपलाइनको विस्तारपछि मूल्यमा समेत घटोत्तरी हुने बताए। साथै उनले नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि धनुषाको धनुषाधाममा भोकेशनल स्किल ट्रेनिङ सेन्टर खोल्ने खोल्न लागेको समेत जानकारी गराए। नेपालको दुई दिने भ्रमणमा रहेका भारत सरकारका प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, भारतीय राजदूत मञ्जिव सिंह पुरीलगायतले धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिर, जानकी मन्दिरको दर्शन तथा पूजाआजासमेत गरेका छन्। उनीहरूले जानकी मन्दिरभित्र रहेका सांस्कृतिक संग्राहलयहरूको समेत अवलोक गरेका थिए। जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकी मन्दिरमा स्वागतसँगै जानकी मन्दिर अंकित तस्बिर तथा खादा ओढाई सम्मान प्रकट गरेका थिए। भारतीय मन्त्री प्रधानसँगै आपूर्ति मन्त्री यादव अमलेखगञ्जको पाइपलाइनको स्थलगत अनुगमन गर्ने र काठमाडौंबाट साँझ पुनः भारत फर्किने जनाइएको छ।